‘प्रतिबन्धित औषधि सेवनबारे अनुसन्धान गरिने’

तस्बिर स्रोत, RIA Novosti
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्नो देशका खेलाडीहरु योजनाबद्ध रुपमा प्रतिबन्धित औषधि सेवन कार्यक्रमको हिस्सा भएको दाबीबारे अनुसन्धान गर्न आदेश दिएका छन्।
प्रतिबन्धित औषधिविरुद्धको अन्तर्राष्ट्रिय निकायको आयोगले औषधि सेवनबारे खुलासा गरेपछि पहिलो पटक पुटिनको प्रतिक्रिया आएको छ।
प्रतिबन्धित औषधिविरुद्धको अन्तर्राष्ट्रिय निकायको स्वतन्त्र आयोगले रुसी खेलाडीहरुले व्यापक स्तरमा औषधि सेवन गरेको निष्कर्षसहितको प्रतिवेदन सोमबार सार्वजनिक गरेको थियो।
रुसी राष्ट्रपति पुटिनले प्रतिबन्धित औषधिविरुद्धका निकायहरुसँग व्यवसायिक रुपमा समन्वय गर्न चाहेको बताएका छन्।
इमानदार
उनले भने, “लडाइ खुला रुपमा हुनुपर्छ, इमानदार भएमात्र एउटा खेलकुद प्रतियोगिता रोचक हुन सक्छ।”
यसअघि रुसी खेलकुदमन्त्री भिताली मुत्कोले ब्रिटेनको प्रतिबन्धित औषधिविरुद्धको प्रणाली “शून्य महत्वको” र रुसकोभन्दा पनि “खतम” भएको टिप्पणी गरेका थिए।
उक्त आरोपको ब्रिटिश संस्कृति, सञ्चार र खेलकुद मन्त्रालयले खण्डन गरेको छ।
पुटिनले चाहिँ रुसलाई असर पार्ने विषयमा मात्र आफ्नो धारणा राखेका छन्।
उनले जिम्मेवारी लिने व्यक्तिले समस्याहरु पत्ता लगाउनुपर्ने बताए।
जिम्मेवारी
पुटिनले भने, “यदि हामी निष्कर्षमा पुग्छौँ भने प्रतिबन्धित औषधिविरुद्धको विद्यमान कानुन उल्लंघन हुँदा कसै न कसैले जिम्मेवारी लिनैपर्छ, यो जिम्मेवारी व्यक्तिगत हुनुपर्छ।”
सोचीमा खेलकुद अधिकारीहरुसँग बैठक बस्नुअघि उनले भने, “म एउटा तरिकाले वा अर्को तरिकाले जोडिएका खेलकुदमन्त्री र हाम्रा सबै सहकर्मीहरुलाई यो विषयमा संभावित ठूलो ध्यान दिन आग्रह गर्दछु।”
उनले उक्त विषयमा रुसले आन्तरिक रुपमा अनुसन्धान गर्नुपर्ने आवश्यकता रहेको भन्दै त्यसबारे खुला र व्यवसायिक रुपमा अन्तर्राष्ट्रिय निकायसँग समन्वय गर्न चाहेको बताए।
अन्तर्राष्ट्रिय एथलेटिक्स संघका अध्यक्ष लर्ड कोले प्रतिबन्धित औषधि सेवनबारे जवाफ दिन रुसी एथलेटिक्स महासंघलाई शुक्रबारसम्म समय दिइएको बताएका छन्।





















