‘सिन्जार आइएस लडाकुबाट मुक्त’

पेशमेर्गा लडाकूले उक्त शहर नियन्त्रणमा लिएको बताइएको छ
तस्बिरको क्याप्शन, पेशमेर्गा लडाकूले उक्त शहर नियन्त्रणमा लिएको बताइएको छ
Published

इराकको कुर्दिस्तान क्षेत्रका नेताले इस्लामिक स्टेट लडाकुबाट सिन्जार पुन: नियन्त्रणमा लिने अभियान सफल भएको बताएका छन्।

उत्तरी इराकको कुर्दिस्तान क्षेत्रका नेताले उनको फौजले रणनीतिक महत्वको सिन्जार शहर इस्लामिक स्टेट (आइएस) लडाकुको नियन्त्रणबाट मुक्त गराएको बताएका छन्।

ती नेता मसुद बर्जानीले आइएस नियन्त्रित अर्को शहर मोसुलतर्फ अघि बढ्ने योजनामा पछिल्लो घटनाले महत्वपूर्ण प्रभाव पार्ने जनाएका छन्।

सिन्जार पुन: नियन्त्रणमा लिने अभियान बिहीबार बिहानै शुरु भएको थियो।

नियन्त्रण

उक्त अभियानमा अमेरिकी नेतृत्वको गठवन्धनले हवाइ आक्रमण गर्दै सघाएको थियो।

पेसमेर्गा भनिने करीब ७ हजार ५ सय कुर्दिस लडाकुहरुले अहिले उक्त शहर पूर्ण नियन्त्रणमा लिएको बताइएको छ।

पेशमेर्गा लडाकुहरुलाई स्थानीय समुदाय याजिदीका स्वयमसेवकले समेत साथ दिएका थिए।

सिन्जार पुगेका बीबीसी संवाददाता जिम म्युरका अनुसार पेशमेर्गा फौजहरु सडकको बीचमा हिडिरहेको तथा विस्फोट नभएका बमहरु छल्दै अघि बढिरहेको देखिन्छ।

गत अगष्टमा उक्त शहर कब्जामा लिएपछि आइएस लडाकुहरुले हजारौं याजिदीहरुलाई मार्नुका साथै दास जस्तो बनाएर राखेका थिए।

कैयौं याजिदीहरु नजिकैको सिन्जर भनिने पहाडमा पानी र खानाविनै केही दिनसम्म फसेका थिए।

पछि उनीहरुलाई सिरियाली कुर्दिस फौजले उद्धार गरेका थिए।

हमला

इराकमा आइएस ठेगानामाथि आक्रमण गर्ने अमेरिकी निर्णय त्यस्तै सम्भावित नरसंहार रोक्ने प्रयासको लागि भएको दावी गरिंदै आइएको छ।

यसैबीच बग्दादमा भएको आत्मघाती बम हमलामा कम्तीमा १७ जना मानिसको ज्यान गएको छ।

आक्रमणकारीले एक जना शिया लडाकुको दाहसंस्कार कार्यक्रमलाई लक्षित गरेको थियो।

उक्त आक्रमणमा ४० जनाभन्दा बढी मानिस पनि घाइते भएका छन्।

इराकी सेनाले पश्चिमी शहर रमादी आइएस लडाकुको कब्जाबाट मुक्त गराउन आक्रमण शुरु गरेको बताइएको छ।