‘कांग्रेस प्रतिपक्षीकै भूमिकामा रहने’

संसदीय दलको नेता चयनसँग सरकार परिवर्तनको राजनीति शुरु हुने अड्कलबाजीमाझ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो पार्टी सशक्त विपक्षीकै भूमिकामा रहने बताएका छन्।
बुधबार संसदीय दलको नेतामा विजयी भएका उनले संसदमा बलियो विपक्षीको आवश्यकता रहेको उल्लेख गरे।
अर्का उम्मेद्वार रामचन्द्र पौडेलभन्दा ७२ बढी ल्याएर जितेका देउवाले सबैलाई समेटेर पार्टीलाई अघि बढाउने समेत बताए।
संसदको सबैभन्दा ठूलो दल कांग्रेसको सभापतिमा शेरबहादुर देउवा निर्वाचित भएसँगै सरकार परिवर्तन हुने वा कांग्रेस पनि वर्तमान सरकारमा सहभागी हुने चर्चा शुरु भएको थियो।
नेतृत्व
संसदीय दलको नेतामा पनि देउवा नै विजयी भएपछि त्यो चर्चाले थप बल पाएको छ।
कारण, संसदीय दलको नेताले नै सरकारको नेतृत्व गर्ने परम्परा कांग्रेसमा रहिआएको छ।
सत्ता परिवर्तनबारे धेरैको ध्यान आफूतिर तानेको देखिएका देउवाले संसदीय दलको नेतामा निर्वाचित भए लगत्तै पत्रकारहरुसँगको कुराकानीमा भने प्रतिपक्षीकै भूमिका निर्वाह गर्नेतर्फ आफ्नो पार्टीले ध्यान केन्द्रित गर्नेमा आश्वस्त पार्न खोजे।
उनले भने, “प्रजातन्त्रमा सबै मिलेर बाँडचुँड गरी खाऔँ भन्ने होइन, विपक्षी पनि हुनुपर्छ, हामी विपक्षीको भूमिका प्रभावकारी ढंगले निभाउछौँ, यसमा शंका नगरे हुन्छ।”
न्यायपालिकामा भन्ने गरिएको राजनीतिकरण, भूकम्पपछिको पुनर्निर्माण लगायतका मुद्दा तत्काल सम्बोधन गर्न आवश्यक रहेको औल्याउँदै देउवाले तराईमा देखिएको समस्या समाधन गर्न आफूले पनि पहल गर्ने बताए।
उनले संवादमार्फत तराई समस्या सम्बोधन गर्न समेत सरकारलाई सुझाए।
तीन पटकसम्म प्रधानमन्त्री भइसकेका देउवाका अगाडि पार्टीलाई एकढिक्का बनाएर लैजानु मुख्य चुनौती रहेको कतिपयको बुझाई छ।
बलियो

सभापति र संसदीय दलको नेतामा रामचन्द्र पौडेललाई नै पराजित गरेका देउवाले उनीसहित सबैको सहयोग लिएर अघि बढ्ने आज पनि दोहोर्याए।
उनले भने, “रामचन्द्रजी र म राजनीतिमा सँगै दुःख पाएका साथी हौँ, मैले उहाँको सम्मान गर्दै उहाँको सहयोग लिएर पार्टीलाई अझ बलियो बनाएर लैजानेछु।”
संसदीय दलको नेता चयन प्रक्रिया सकेको कांग्रेसमा संसदीय दल कार्यसमिति सदस्यको निर्वाचन भने बाँकी छ।
प्रदेश र समावेशी गरी २२ पदका लागि भोलि उम्मेदवारी दिने कार्यतालिका छ।
महाधिवेशनदेखि प्रष्टरुपमा दुई खेमामा विभाजित देखिएको कांग्रेसमा बाँकी पदका लागि हुने निर्वाचन पनि गुटगत राजनीतिबाट अछुतो नरहने स्पष्ट छ।





















