बेपत्ता पीडितका आफन्तको उजुरी दर्ता सुरु

सशस्त्र द्वन्द्वकालमा बेपत्ता पारिएका व्यक्तिबारे छानविन गर्न गठित आयोगले बिहीबारदेखि वेपत्ता पारिएका व्यक्तिका आफन्तहरुको उजुरी दर्ताको काम शुरु गरेको छ।
उजुरीका लागि ६० दिनको समयावधी दिएकोमा पहिलो दिन विभिन्न जिल्लामा गरि १५ वटा उजुरी दर्ता भएको आयोगले जनाएको छ।
उजुरी दर्ता गराउने तयारीमा रहेका वेपत्ताका आफन्तहरुले आयोगमार्फत न्याय पाउनेमा भने विश्वस्त हुन नसकेको बताएका छन्।
अाह्वान
सशस्त्र द्वन्द्वकालमा राज्य र बिद्रोही पक्षबाट कैयौं मानिस बेपत्ता पारिएको भन्दै उनीहरुका आफन्तहरुले स्थिति सार्वजनिक गर्न सरकारलाई दबाब दिँदै आएका थिए।
उक्त कामका लागि गठन गरिएको आयोगले सशस्त्र द्वन्द्व औपचारिक रुपमा समाप्त भएको झन्डै १० वर्ष र आयोग गठन भएको १ वर्ष पछि उजुरी लिने काम शुरु गरेको हो।
कानुन निर्माण र कार्यालय व्यवस्थापनमा लामो समय खर्चिनु परेको बताउने आयोगले उजुरी दिन आह्वान गरे बमोजिम बिहीबार १५ वटा उजुरी परेको आयोगका प्रवक्ता डाक्टर विष्णु पाठकले बताए।
उनले भने, "आयोगको केन्द्रिय कार्यालयमा २ वटा सहित बाँके, बर्दिया, कैलाली, कास्की र दोलखामा उजुरी दर्ता भएका छन्। ७५ वटै जिल्लामा स्थानिय शान्ति समिति मार्फत् ६० दिनसम्म फारम संकल्न गर्ने काम जारी रहने छ।"
उजुरी लिन सुरु गरेकै दिन चैते दशैं धेरै मानिसहरु उजुरी दिन नआएको बताइएको छ।
आशा
यो प्रारम्भिक उजुरी भएको र अहिले दिने उजुरीकै आधारमा पीडित परिवारकै घरसम्म पुगेर पूर्ण विवरण संकल्न गर्ने योजना आयोगले बनाएको छ।
कार्यकाल १० महिनामात्र बाँकी रहदा उजुरी आवहान गरेको आयोगले न्याय दिन्छ भन्ने कुरामा आफुहरु आशावादी नरहेको पीडितहरुको भनाई छ।
त्यस्तै मध्यका एक हुन सबै भन्दा बढी मानिस बेपत्ता पारीएको जिल्ला बर्दियाका पीडित भागीराम चौधरीले भने "आयोगमा उजुरी दर्तासम्म गर्नेछौं तर आयोगको कामको प्रक्रिया र तरिका हेर्दा न्याय पाउने आशा भने घटेको छ।"
१० वर्षसम्म चलेको सशस्त्र द्वन्द्वमा कति मानिस सरकार र बिद्रोही पक्षबाट बेपत्ता पारिएका थिए भन्ने यकिन तथ्यांक कसैसँग छैन।
शान्ति मन्त्रालय, राष्ट्रिय मानव अधिकार आयोग, अनौपचारिक क्षेत्र सेवा केन्द्र ईन्सेक र रेडक्रसको अन्तर्राष्ट्रिय समितिसँग भएका वेपत्ता व्यक्तिहरुका सूची फरक फरक रहेका छन्।
आयोगले आह्वान गरेको उजुरीपछि नै बेपत्ता व्यक्तिको संख्या यकिन हुने बताइएको छ।
सशस्त्र द्वन्द्वकै अन्य घटनाको छानबिन गर्ने जिम्मा पाएको सत्य निरुपण तथा मेलमिलाप आयोगले पनि आईतबार देखि उजुरी दर्ता गर्ने तयारी गरिरहेको जनाएको छ।





















