इक्वेडरमा भूकम्पः उद्धार र खोजी कार्य जारी

Published

केही दशकयताकै सबैभन्दा ठूलो भूकम्पका कारण इक्वेडरमा करिब २५० जनाको ज्यान गएको र २,५०० जना घाइते भएको अधिकारीहरुले बताएका छन्।

भूकम्पपछि च्यापिएका र हराएका मानिसको खोजी तथा उद्धारका लागि १०,००० सेना र ३,५०० प्रहरी परिचालन गरिएको बताइएको छ।

इक्वेडरमा शनिबार ७ दशमलव ८ म्याग्निट्युडको भूकम्प गएको थियो।

भूकम्पपछि उद्धारकर्ता र सेना हराइरहेका मानिसहरुको खोजी कार्यमा जुटिरहेका छन्।

प्रभावित

उपराष्ट्रपति खोर्खे ग्लासले शनिबारको भूकम्पमा परि हालसम्म २४६ जनाको ज्यान गएको पुष्टि भएको बताए।

भूकम्पका कारण पेदरनालिस शहर सबैभन्दा नराम्ररी प्रभावित भएको छ।

सो शहरमा कैयौं भवनहरु लडेका छन् भने सडकहरु भत्किएका छन् र विद्युत आपूर्ति बन्द भएको छ।

उक्त शहरका मेयरले भत्किएका कैयौं होटलका भग्नावशेषभित्र सयौं मानिसहरु पुरिएको हुन सक्ने बताए।

इक्वेडरको उत्तर-पश्चिमी तटीय क्षेत्र भूकम्पको केन्द्रबिन्दु नजिकै रहेकाले ती क्षेत्रहरुमा बढी क्षति भएको हुनसक्ने अधिकारीहरुको अनुमान छ।

संकटकाल

देशले भूकम्पको त्रासदी भोग्नु परेकाले इक्वेडरका राष्ट्रपतिले इटली भ्रमण छोट्एका छन् र देशमा संकटकाल घोषणा गरेका छन्।

पहिरोग्रस्त क्षेत्रहरुमा हेलिकोप्टर तथा बसमा उद्धारका लागि सेना पठाइएका विवरणहरु प्राप्त भएका छन्।

कैयौं स्थानमा मानिसहरुले नाङ्गो हातले पुरिएका मानिसहरुलाई निकाल्न प्रयत्न गरिरहेका विवरणहरु आएका छन्।

भूकम्पपछि बेघर भएका मानिसहरुलाई खानेकुरा र अत्यावश्यक सामाग्री पुर्याउने काम शुरु भइसकेको छ।

छिमेकी भेनेजुएला, मेक्सिको र अन्य देशहरुबाट पनि सहायता सामाग्री आउने क्रम शुरु भइसकेको छ।