‘गैरकानूनी आप्रवासीको संख्या घट्दै’

migrants
तस्बिरको क्याप्शन, गैरकानूनी रुपमा युरोप प्रवेश गर्न खोज्ने आप्रवासीको संख्यामा कमी आएको बताइएको छ
Published

युरोपेली परिषद्का अध्यक्ष डोनाल्ड टुस्कले आप्रवासीहरुको प्रवाह रोक्न गत महिना युरोपेली संघ (इयु) र टर्कीबीच भएको सम्झौताले परिणाम दिन थालेको बताएका छन्।

टुस्कले गैरकानूनी रुपमा युरोप छिर्न खोज्ने आप्रवासीहरुको संख्यामा ठूलो कमी आएको बताए।

प्रशंसा

टर्कीको प्रशंसा गर्दै उनले भने, “यो राजनीतिक र औपचारिक मूल्यांकन मात्रै होइन, मेरो व्यक्तिगत अनुभव पनि के हो भने, आज टर्की पूरा विश्वले शरणार्थीहरुलाई कसरी व्यवहार गर्नुपर्छ भन्ने विषयको सबैभन्दा उत्तम उदाहरण हो। टर्कीले के गर्नुपर्छ भनेर भाषण दिने अधिकार कसैलाई छैन”।

तर अधिकारवादी समूहहरुले आप्रवासी मामिलामा टर्कीको आलोचना गरेका छन्।

गत मार्चमा भएको सम्झौताको मुख्य उद्देश्य आप्रवासीहरु, खासगरी सिरियाली र इराकीलाई, टर्की र ग्रीसबीचकोसमुद्रबाट गैरकानूनी रुपमा युरोप प्रवेश गर्न नदिनु हो।

उक्त सम्झौता आफूहरुले पालना गरेको भन्दै टर्कीका प्रधानमन्त्री अहमद डाभुतोग्लुले सोही सहमति अनुरुप अब इयुले टर्कीका नागरिकका लागि भिसाविना युरोप भ्रमण गर्न पाउने व्यवस्था मिलाउनुपर्ने बताएका छन्।