'बम विष्फोटका कारण बग्दादमा ६० को मृत्यु'

तस्बिर स्रोत, Reuters
इराकी अधिकारीहरूले भनेका छन् राजधानी बग्दादमा भएका चार वटा बम विष्फोटका कारण ६० भन्दा धेरै मारिएका छन् भने अन्य कैयौं घाईते भएका छन्।
सबभन्दा शक्तिशाली विष्फोट चाहीं अधिकांश शिया मुसलमान रहने अल शाब क्षेत्रमा रहेको बजारमा एक आत्मघाती हमलाकारीले गराएको बताइएको छ।
त्यस लगत्तै दुई विष्फोट शिया क्षेत्रको सद्र शहरमा र अर्को चाहीं सुन्नी बहुल रहेको दक्षिणी भागमा भएको छ।
जिम्मा
अल शाब क्षेत्रमा भएको विष्फोटको जिम्मा इस्लामिक स्टेट भनिने आइएस विद्रोहीले लिएका छन्।
तिनले अन्य विष्फोट बारे भने केही बताएका छैनन्। आइएसले शियालाई धर्म विरोधी मान्छ।
उत्तरी तथा पश्चिमी इराकको ठूलो भूभाग नियन्त्रणमा लिएको आइएसले शिया समुदाय लक्षित गरेर बारम्बार हमला गर्ने गरेको छ।
शुक्रबार बग्दादमा भएको तीन कार बम विष्फोटमा परी ९३ जनाको ज्यान गएको थियो।
त्यस्तै आईतबार उक्त समूहले शहरको उत्तरी भागमा रहेको प्राकृतिक ग्यास कारखानामा हमला गर्दा १४ जनाको ज्यान गएको थियो।
मंगलबारको विष्फोटमा परी एक सयभन्दा धेरै गैरसैनिकहरु घाईते भएको उपचारमा संलग्नहरुले बताएका छन्।
विश्लेषकहरु भन्छन् आइएसले आफ्ना हमला तीव्र पारेर उसले रणनीतिमा परिवर्तन गर्न खोजेको देखिन्छ।
पछिल्लो समय अमेरिकी हवाई हमलाको बलमा इराकी सरकारी सेनाले आइएस समूहबाट थुप्रै भूभागको नियन्त्रण पुन: आफु लिन सफल भएको थियो।





















