ब्रजिलमा फेरि अर्का मन्त्रीद्वारा राजीनामा

सफाई
तस्बिरको क्याप्शन, मन्त्रीको विरोध गर्दै कर्मचारीले भवनमा कुचो लगाउँदै सांकेतिक विरोध गरेका थिए।
Published

श्रव्य टेप प्रकरणमाझ ब्रजिलका पारदर्शिता मन्त्री फाबियानो सिल्भेइराले आफ्नो पदबाट राजीनामा दिएका छन्।

भ्रष्टाचार नियन्त्रण गर्ने मन्त्रालय सम्हालिरहेका उनीमाथि सरकारी तेल कम्पनीमा भएको भ्रष्टाचार अनुसन्धानलाई अवरुद्ध पार्न खोजेको आरोप लागेको छ।

त्यस सम्बन्धी श्रव्य टेप बाहिरिए उनले राजीनामा दिएका हुन्।

गत साता ब्रजिलको नयाँ सरकारका योजना मन्त्रीले यस्तै खाले श्रव्य टेप सार्वजनिक भएपछि राजीनामा दिएका थिए।

'सुझाव'

अहिले त्यस्तै श्रव्य टेप प्रकरणमाझ पारदर्शिता मन्त्री फाबियानो सिल्भेइराले राजिनामा दिएका हुन।

ब्रजिलस्थित बीबीसीकी एक संवाददाता भन्छिन् नयाँ सरकारमा पारदर्शिता तथा भ्रष्टाचार नियन्त्रण मन्त्री रहेका सिल्भेइराले आफ्ना सहकर्मीलाई भ्रष्टाचार सम्बन्धी छानविनबाट कसरी बच्ने भन्ने सुझाव दिएको श्रब्य टेप सार्वजनिक भएपछि राजीनामा दिएका हुन्।

उनी भन्छिन्, “श्रव्य टेपमा उनले उनी मन्त्री हुनुअघि दुई वरिष्ठ राजनीतिज्ञलाई ब्रजिलको सरकारी तेल कम्पनी पेत्रोब्राइसमा भएको भ्रष्टाचार सम्बन्धी अनुसन्धानको कसरी सामान गर्न सकिन्छ भन्नेबारे सुझाव दिएका थिए।”

टेप प्रकरणमाझ ब्रजिलको पारर्शिता मन्त्रालयका कर्मचारीहरुले मन्त्रालय भवनको सांकेतिक सफाइ गर्दै सिल्भेइरालाई हटाउनु पर्ने माग गरेका थिए।

गत साता ब्रजिलको नयाँ सरकारका योजना मन्त्री होमेरो जुकाले यस्तै खाले श्रव्य टेप सार्वजनिक भएपछि राजिनामा दिएका थिए।

जिल्मा रुसेफ महाअभियोगका माझ निलम्बित भएपछि दुवै जना नयाँ सरकारका मन्त्री भएका थिए।