विहारको ‘चिट’ विकृति
विहारमा उच्च माध्यमिक तहमा सबैभन्दा उच्च अंक ल्याउने विद्यार्थीहरुको पुन: परीक्षा लिइएको छ। के त्यसले उक्त राज्यमा व्याप्त चोरी संस्कृति रोक्ला? बीबीसीका सौतिक विश्वासको एक विश्लेषण।

तस्बिर स्रोत, AFP
विहारका दुई सर्वोत्कृष्ट विद्यार्थीहरु आफ्नो विषयका सामान्य प्रश्नको जवाफ दिन विफल भएपछि शुक्रबार विभिन्न बिषयका एक दर्जन बढी उत्कृष्ट विद्यार्थीहरुलाई पुन: परीक्षाका लागि पटना बोलाइएको थियो।
परीक्षकहरुले उनीहरुका अक्षर जाँच्ने छन् अनि उनीहरुले परीक्षामा चोरी गरेका थिए वा थिएनन्, त्यो पत्ता लगाउने प्रयास गर्नेछन्।
यसअघि १२ कक्षाका सर्वोत्कृष्ट विद्यार्थी रुबी राय र सौरभ श्रेष्ठको टेलिभिजन अन्तर्वाता प्रसारण भएपछि उनीहरु सहित उत्कृष्ट विद्यार्थीहरुको पुन: परीक्षा लिने निर्णय बिहार सरकारले गरेको थियो।
झण्डै १० लाख विद्यार्थी मध्येमा उनीहरु कक्षा १२ को परीक्षामा उत्कृष्ट घोषित भएका थिए।
कालोसूची

तस्बिर स्रोत, Biharpictures.com
मानवशास्त्र संकायकी सर्वोत्कृष्ट छात्रा रायले राजनीतिशास्त्र भनेको के हो भन्ने प्रश्नको जवाफमा उक्त विषय खानेकुरा पकाउनुसँग सम्बन्धित रहेको जवाफ दिएकी थिइन्।
विज्ञानमा सर्वोत्कृष्ट ठहरिएका श्रेष्ठले चाहिँ आल्मुनियम ‘पेरियोडिक टेबल’मा उल्लेखित सबैभन्दा क्रियाशील घातु रहेको बताएका थिए, जुन गलत हो।
संयोगले दुवै जना उत्कृष्ट विद्यार्थीहरु विहारको बैशाली जिल्लामा अवस्थित एउटै विद्यालयका हुन्
अघिल्लो वर्ष चोरीलाई प्रोत्साहन गरेको भनेर अधिकारीहरुले उक्त कलेजलाई कालोसूचीमा राखेका थिए।
तर उक्त कलेजका प्रधानाध्यापक भने निरन्तर पदमा बहाल छन्।
अघिल्लो वर्ष विहारमा विद्यार्थीका परिवार एवं आफन्त र साथीभाइ विद्यालयको पर्खालमा चढेर चिट चोराइरहेको तस्विर अझै धेरैको सम्झनामै छ।
लाजमर्दो

तस्बिर स्रोत, AP
त्यसबाट हतास भएका विहारका नेता लालुप्रसाद यादवले भनेका थिए, “यहाँबाट बाहिर गएपछि कसैले पनि तिमीहरुको ड्रिग्रीमा विश्वास गर्ने छैनन्, यदि तिमीहरु परिक्षा उत्तीर्ण गर्न सक्दैनौँ भने किन अनुत्तीर्ण हुँदैनौँ अनि पुन: परीक्षामा बस्दैनौँ?”
विहारमा परिक्षामा ‘चिट’ चोर्ने समस्या व्यापक छ र अघिल्लो वर्ष सार्वजनिक भएका तस्विरहरुले सरकारलाई लाजमर्दो अवस्थामा पुर्याएको थियो।
त्यही भएर उनीहरुले सिसिटिभी क्यामेरामार्फत निगरानीको व्यवस्था मिलाए र परीक्षा मर्यादित बनाउन ७० हजार अधिकारी एवं प्रहरी समेत परिचालन गरे।
यस वर्षको १० कक्षाको परीक्षामा चिट सहित समातिने विद्यार्थीलाई १० हजार रुपियाँ जरिवानाको व्यवस्था पनि गरियो।
त्यसको परिणाम स्वरुप विहार बोर्डको परीक्षामा भाग लिएका १४ लाख विद्यार्थी मध्ये आधा अनुत्तीर्ण भए।
अघिल्लो वर्ष सहभागीमध्ये झण्डै ७५ प्रतिशत विद्यार्थी परीक्षामा सफल भएका थिए।
विहारमा विद्यालय परिक्षामा चिट चोर्ने चलन सम्झना रहेको समयदेखि नै छ।
घुस
विद्यालयका शिक्षक तथा प्रशासक सम्मिलित माफिया समूहले घुस दिने अभिभावकलाई उनीहरुका छोराछोरीका पूरै नक्कली उत्तरपुस्तिका उपलब्ध गराउनसक्छ।
कतिपय अवस्थामा परिक्षार्थीहरु घरमै बस्छन् अनि शिक्षकहरुले चाहिँ उनीहरुका उत्तर पुस्तिका भरिदिन्छन्।
विहारको एउटा विद्यालयमा एक दशकअघि अध्ययन गरेकी मेरी एक सहकर्मी शिक्षकहरुले जाँचको समयमा कालोपाटीमा उत्तर लेखिदिने गरेको सम्झिन्छिन्।
अहिले ४० देखि ५० हजार रुपियाँ तिरेर प्रथम श्रेणीमा उत्तीर्ण भएको प्रमाणपत्र प्राप्त गर्न सकिने विहारका एक जना अधिकारी बताउँछन्।
तर उच्चतंम अंक सहितको प्रमाणपत्रका लागि एक लाख रुपियाँसम्म तिर्नुपर्ने हुन्छ।

तस्बिर स्रोत, Biharpictures.com
भारतको गरिब मध्ये एक राज्य विहारमा शिक्षाको प्रश्न उठ्दा कतिपय चिज ज्यादै खराब देखिन्छन्।
गरिबीबाट मानिसको जीवनस्तर उकास्न एवं मध्यमस्तरका मानिसहरुको जीवनस्तर थप माथि पुर्याउन महत्वपूर्ण मानिने शिक्षाप्रति त्यहाँ आकर्षण बढ्दो छ।
उदाहरणका लागि सन् २००४ मा झण्डै ५ लाख विद्यार्थी १० कक्षाको परीक्षामा सहभागी थिए तर त्यो संख्या सन् २०१४ मा १३ लाखभन्दा बढी पुगेको थियो।
तर यस वर्ष चिट चोर्ने प्रवृत्तिमाथि सरकारले धावा बोल्ने बित्तिकै नतिजा एकदमै नराम्ररी खस्किएको छ।
सन् २०१४ र सन् २०१५ मा कक्षा १० को परीक्षामा ७० प्रतिशत भन्दा बढी विद्यार्थी सफल भएका थिए।
तर यो वर्ष ५० प्रतिशत पनि उत्तिर्ण भएनन्।
चोरेर सर्वोत्कृष्ट भएको आरोप खेपेका राय र श्रेष्ठ सम्मिलित क्रमश: मानवशास्त्र एवं विज्ञानमा यस पटक ५६ प्रतिशत र ६७ प्रतिशत विद्यार्थी उत्तीर्ण भए।
अघिल्लो बर्ष ती संकायमा क्रमश: ८६ प्रतिशत र ८९ प्रतिशत उत्तीर्ण भएका थिए।
दयनीय

तस्बिर स्रोत, Biharpictures.com
पढ्ने बानीमा सुधार भएको भनिएपनि विहारमा शिक्षकहरुको गुणस्तर एकदमै चिन्ताजनक रहेको बताइन्छ।
उनीहरु कक्षामा निक्कै कम उपस्थित हुने गरेको समेत देखिन्छ।
अघिल्लो वर्ष स्थानीय पत्रकारले गरेको एउटा खोजले शिक्षकको दयनीय क्षमता उजागर गरेको थियो।
एक जना शिक्षकले शेक्सपियरको हिज्जे समेत अशुद्ध सुनाएका थिए भने गणितका शिक्षकले ‘म्याथमेटिक्स’ को हिज्जे अनि पाइथागोरस को हुन् भन्ने प्रश्नको जवाफ समेत दिन सकेका थिएनन्।
अधिकांश विहारका विद्यार्थीको गुनासो सधैँ एउटै छ, “हाम्रा शिक्षक सितिमिति हामीलाई पढाउन नै आउँदैनन्।”
पुन: परीक्षा दिएका विद्यार्थीहरु दोषी फेला परे के गर्ने भन्ने जवाफ अझै अधिकारीहरुले दिएका छैनन्।
तर जब ‘चिट’ चोर्ने विद्यार्थीको संख्या यकीनसम्म गर्न सकिदैँन भने कति विद्यार्थीलाई सरकारले कार्वाही गर्न सक्ला भन्ने प्रश्न टड्कारो रुपमा उठेको छ।
समाजिक संजालमा आएको एउटा ट्विटमा लेखिए जस्तै “कतै अभिभावकहरुले अब पर्खालमाथि पुन: चढ्नुपर्ने त होइन्?” भन्ने आशंकाहरु पनि व्यक्त भएका छन्।





















