रसुवागढी-काठमाण्डू रेलमार्गमा चिनियाँ चासो

चाइना रेलवे कन्स्ट्रक्सन कम्पनी कर्पोरेसन (सीआरसीसी) का अधिकारीहरुले केही साताअघि आफूसँगको भेटमा रसुवागढी र काठमाण्डू जोड्ने प्रस्तावित रेलमार्गको सम्भाव्यता अध्ययन गर्न चासो देखाएको रेल विभागका प्रमुखले बताएका छन्।
रसुवागढी जोड्ने रेलमार्ग निर्माण भएमा नेपाल र चीनबीचको पारवहन सहज हुने जानकारहरु बताउँछन्।
सीआरसीसी चीनभित्र र बाहिर रेलमार्गको निर्माणमा सक्रिय एक प्रमुख निर्माण कम्पनी हो।
सो कम्पनीका अधिकारीहरुले आफुसँगको भेटमा चीनको केरुङ नाका नजिकै पर्ने रसुवागढीबाट काठमाण्डू जोड्ने रेलमार्ग निर्माणको लागि चासो देखाएको विभागका महानिर्देशक अनन्त आचार्यले बीबीसीलाई बताए।
“सीआरसीसीको टिम म कहाँ आएको थियो। उनीहरुले हामी रसुवागढीको रेलमार्ग अध्ययन गर्न बनाउन इच्छुक रहेको बताए। मैंले उनीहरुलाई सरकारलाई निवेदन हाल्न सुझाव दिएँ,” उनले भने।
योजना
तिब्बतको शिगात्सेसम्म आइपुगेको चिनियाँ रेल सन् २०२० सम्ममा रसुवापारी नेपाल-चीन सीमासम्म ल्याउने योजना चीनले सार्वजनिक गरिसकेको छ।
तर नेपालमा प्रस्तावित रसुवागढी-काठमाण्डू रेलमार्ग निर्माणगर्ने विषयमा चिनियाँ पक्षलाई निर्माण गर्न सहयोग गर्न अनुरोध गर्ने बाहेक अहिलेसम्म ठोस काम भएको छैन।
अब काम शून्यबाटै सुरु गर्नु पर्ने महानिर्देशक आचार्यले बताए।
उनले भने, “यो रेलमार्गबारे केही पनि नभएको हुनाले कोरा कागजबाटै काम थाल्नु पर्ने छ। उनीहरुले हामी अध्ययन गर्न लगानी गर्न इच्छुक छौं भनेका छन्।”
सीआरसीसीले त्यसबारे एक निवेदन समेत नेपाल सरकारलाई दिएको उनले बताए।
सीआरसीसीको वेवसाइटमा जनाइएअनुसार उसले चीनबाहिर समेत अल्जेरिया, टर्की, तान्जानिया र जाम्बियामा विभिन्न रेलमार्ग निर्माण गरिसकेको छ।
चीनको सिगात्सेबाट सीमावर्ती केरुङ आइपुग्ने रेलमार्गसँग जोड्न सजिलो हुने भनिएको रसुवागढी- काठमाण्डू रेलमार्गलाई नेपाल सरकारले पनि प्राथमिकतामा राखेको छ।
लक्ष्य
हालै सार्वजनिक बजेटमा अर्थ मन्त्रीले रसुवागढी-काठमाण्डू-पोखरा-लुम्बिनी रेलमार्गको विस्तृत परियोजना प्रतिवेदन दुई वर्षभित्र तयार गरी निर्माण कार्य प्रारम्भ गर्ने घोषणा गरेका थिए।
करीब १३० किलोमिटर लामो हुने अनुमान गरिएको रसुवागढी-काठमाण्डू रेलमार्गको कुरा हालसम्म कागजमै सीमित रहेको छ।
तर हालै अर्को चिनियाँ कम्पनी चाइना सीएमसी इन्जिनियरिङ कम्पनीले प्रस्तावित काठमाण्डू-पोखरा रेलमार्गको सम्भाव्यता अध्ययनको मस्यौदा रेल विभागलाई बुझाइएको महानिर्देशक आचार्यले बताए।
सो अध्ययन अनुसार काठमाण्डू-पोखरा रेलमार्ग १६४ किलोमिटर लामो हुनेछ।
नेपाल सरकारले देशभित्र १३ सय किलोमिटर भन्दा बढी लामो रेल सञ्जाल निर्माण गर्ने लक्ष्य लिएको छ।
तर अधिकांस रेलमार्गका प्रस्ताव प्रारम्भिक अध्ययनकै चरणमा छन्।
चिनियाँ रेल आइपुग्नै लागेको रसुवागढीपारीको केरुङ क्षेत्र त अझै अध्ययनको चरणमा पनि पुगेको छैन।





















