क्लिन्टनमाथि अभियोग लगाउनु नपर्ने: एफबिआइ

गत साता एफबिआइले अनुसन्धान शुरु गरेको खुलासा भएपछि त्यसले चुनावी अभियानमा उथलपुथल ल्याएको थियो
तस्बिरको क्याप्शन, गत साता एफबिआइले अनुसन्धान शुरु गरेको खुलासा भएपछि त्यसले चुनावी अभियानमा उथलपुथल ल्याएको थियो
Published

अमेरिकाको संघीय जाँच ब्यूरो एफबिआइका निर्देशक जेम्स कोमीले भनेका छन्, हिलरी क्लिन्टनले विदेशमन्त्री हुँदा प्रयोग गरेको पछिल्ला इमेलहरुको समीक्षा गर्दा उनले कुनै अभियोगको सामना गर्नु नपर्ने पाइएको छ।

संसदलाई पत्र लेख्दै कोमीले क्लिन्टनका गोप्य इमेल व्यवस्थापनको विषयमा एफबिआइले यो वर्षको शुरुमा जुन निस्कर्ष निकालेको थियो अहिले पनि त्यसमा कुनै परिवर्तन नभएको बताएका हुन्।

एक साता अघि कोमीले क्लिन्टनको सहयोगीका पूर्व पतिको कम्प्युटरमा फेला परेका इमेलहरुको पुन अनुसन्धान भइरहेको खुलासा गरेको थियो।

रिपब्लिकन उम्मेद्वार डोनल्ड ट्रम्पले, डेमोक्र्याट हिलरी क्लिन्टनलाई धाँधलीयुक्त प्रणालीले जोगाएको छ भन्ने आफ्नो यसअघिको दाबीलाई पुन: दोहोर्याएका छन्।

बहस

एफबिआइका निर्देशक जेम्स कोमीले गत जुलाईमा डेमोक्र्याट उम्मेदवार हिलरी क्लिन्टनले आफू विदेशमन्त्री हुँदा इमेल प्रयोगमा लापरवाही गरेको भए पनि उनीमाथि कुनै फौजदारी अभियोग नलाग्ने बताएका थिए।

गत साता क्लिन्टनकै इमेल प्रयोग सम्बन्धमा नयाँ अनुसन्धान भइरहेको खुलासा कोमीले गरेपछि उक्त विषय पुन: बहसमा आएको थियो।

कोमीले गत महिनाको अन्त्यमा संसदलाई पत्र लेख्दै एफबिआइले क्लिन्टनका इमेलमाथि पुन: नयाँ अनुसन्धान थालिएको खुलासा गरेका थिए।

ट्रम्पले धाँधलीयुक्त प्रणालीले क्लिन्टनलाईजोगाएको छ भन्ने आफ्नो यसअघिको दाबीलाई पुन दोहोर्याएका छन्
तस्बिरको क्याप्शन, ट्रम्पले धाँधलीयुक्त प्रणालीले क्लिन्टनलाईजोगाएको छ भन्ने आफ्नो यसअघिको दाबीलाई पुन दोहोर्याएका छन्

उक्त विषयले ह्वाइट हाउसका निम्ति जारी अभियानमा कम्पन ल्याएको थियो भने रिपब्लिकन उम्मेदवार डोनल्ड ट्रम्पको चुनावी अभियानलाई थप उर्जा दिएको देखिएको थियो।

'राजनीतिक दबाब'

तर आइतबार संसदलाई पुन: लेखिएको पत्रमा कोमीले, आफूले यसअघि अनुसन्धानको खुलासा गरेपछि एफबिआइको टोलीले दिनरात काम गर्दै ठूलो संख्यामा प्राप्त इमेलहरुको अनुसन्धान गरेको बताए।

उनले उक्त अनुसन्धानको प्रक्रियामा क्लिन्टनले आफू विदेशमन्त्री हुँदा पठाएको वा उनले प्राप्त गरेका सबै इमेलहरु एफबिआइले हेरेर समीक्षा गरेको बताए।

उनले उक्त समीक्षाको आधारमा यसअघि गत जुलाईमा एफबिआइले क्लिन्टनको इमेल प्रयोगबारे जुन निस्कर्ष निकालेको थियो अहिले पनि त्यसमा कुनै परिवर्तन नगरेको बताएका हुन्।

चुनावी अभियानका लागि निस्किएको क्लिन्टनका समूहले आफूहरु एफबिआइले त्यही निस्कर्ष निकाल्छ भन्नेमा विश्वस्त रहेको बताएको छ।

क्लिन्टनले आफ्नो दिन फिलाडेल्फियास्थित गिर्जाघरका अफ्रिकी अमेरिकी समुदायलाई सम्बोधन गरेर शुरु गरेकी छन्।

उनी पेन्सिलभेनिया पनि पुगेकी थिइन् भने अब उनले न्यू ह्याम्पसरको र्यालीलाई सम्बोधन गर्ने कार्यतालिका रहेको छ।

तर रिपब्लिकन उम्मेदवार डोनल्ड ट्रम्पका सल्लाहकारले भने ट्वीटमार्फत कोमी सम्भवत: ठूलो राजनीतिक दबाबमा परेको हुनसक्ने बताए।

आइतबार मिनेसोटामा भएको चुनावी र्यालीका क्रममा ट्रम्पले कोमीको पछिल्लो घोषणाबारे कुनै प्रतिक्रिया जनाएनन्।

तर उनले क्लिन्टन जीवनभरका लागि अनुसन्धानको दायरामा रहने बताए।