हिलरीद्वारा मतदाताहरुलाई धन्यवाद

हिलरी
तस्बिरको क्याप्शन, हिलरीले विना कुनै पूर्वाग्रह ट्रम्पलाई काम गर्न दिइनु पर्ने पनि बताइन्
Published

अमेरिकी राष्ट्पति पदको चुनावमा पराजीत उम्मेदवार हिलरी क्लिन्टनले आफुलाई सघाउने सबै मतदाता र समर्थकहरुलाई धन्यवाद दिएकी छिन्।

बुधबार न्यूयोर्कमा बोल्दै डेमोक्रयाट पार्टीको तर्फबाट अमेरिकी राष्ट्रपति पदकी उम्मेदवार क्लिन्टनले आफ्ना प्रतिद्वन्द्वी डोनाल्ड ट्रम्पलाई बधाई दिइन्।

उनले मुलुकको लागि उनीसंग मिलेर काम गर्न आफु तयार रहेको पनि बताइन्।

उनले ट्रम्प सबै अमेरिकीहरुकालागि एक सफल राष्ट्रपति हुने आफुले आशा राखेको पनि जनाइन्।

पूर्वाग्रह

उनले विना कुनै पूर्वाग्रह ट्रम्पलाई काम गर्न दिइनु पर्ने पनि बताइन्।

हिलरीले जितेको भए उनी अमेरिकाकी पहिलो महिला राष्ट्रपति हुने थिइन्।

आफ्नो पराजयप्रति इंगित गर्दै उनले भनिन्, "कुनै दिन कसैले त्यो सबैभन्दा अग्लो, सबैभन्दा कडा अवरोधलाई पनि तोडीदिनेछ।"

त्यो दिन चाँडै आउने आफुले आशा गरेको पनि उनले बताइन्।

मत

मंगलबार भएको चुनावमा २७८ इलेक्टोरल मत पाएर ट्रम्प विजयी भएका थिए भने उनकी डेमोक्र्याटिक प्रतिद्वन्द्वी हिलरी क्लिन्टनले २१८ इलेक्टोरल मत पाएकी थिइन्।

"हामीले देख्यौं कि हाम्रो राष्ट्र हामीले सोचेभन्दा बढी विभाजित छ," उनले भनिन्।

तर उनले आफ्ना समर्थकहरुलाई चुनाव परिणामलाई सम्मान गर्न आह्वान पनि गरिन्।

बुधबार नै ह्वाइट हाउसमा बोल्दै कार्यकाल पुरा गर्न लागेका राष्ट्रपति बराक ओबामाले बिहीबार ट्रम्पसंग भेट गर्न लागेको बताए।

छलफल

उनले सो भेटमा नयाँ राष्ट्रपतिलाई कसरी जिम्मेवारी हस्तान्तरण गर्ने बारे छलफल गरिने बताए।

आउँदो वर्ष जनवरी महिनामा मात्रै ७० वर्षीय ट्रम्पले नयाँ राष्ट्रपतिको जिम्मेवारी संहाल्नेछन्।

राष्ट्रपति ओबामाले ट्रम्पसंग धेरै विषयमा आफ्नो मतभिन्नता रहेको कुरा गोप्य नरहेको बताए।

तर उनले भने, "हामी सबै पहिला अमेरिकीहरु हौं, पहिला देशभक्त हौं। हामी सबै हाम्रो मुलुककालागि राम्रो होस् भन्ने चाहन्छौं।"

तर ट्रम्पको जीत पछि रिपब्लिकन र डेमोक्रयाटहरुबीचको तिक्तता अरु बढ्न सक्ने अनुमान गरिएको छ।