चक्रवात अर्णव भारतको तटीय क्षेत्रमा प्रवेश गरेपछि 'केही घण्टा स्थिर रह्यो'

तस्बिर स्रोत, Getty Images
भारतको मौसम विभागले चक्रवात 'अर्णव' आन्ध्र प्रदेशको तटमा बज्रिने प्रक्रिया बुधवार सम्पन्न भएको जनाएको छ।
"निकै भीषण"को सङ्ज्ञा दिइएको र बङ्गालको खाडीमा विकसित उक्त समुद्री आँधी बिहान केही घण्टा "स्थिर रहेको" अधिकारीहरूले बताएका छन्।
तर पछि बिस्तारै उत्तरपश्चिमतिर सर्न थाल्दा उक्त आँधी क्रमशः कमजोर बन्दै गएको भारतीय मौसम विभागले जनाएको छ।
उक्त चक्रवातको तटीय क्षेत्रमा बज्रिने प्रक्रिया बुधवार सबेरै १:२० बजेतिर सुरु भएको थियो।
भारतको मौसम विभागका अनुसार उक्त समुद्री आँधी यानमको दक्षिणतिर बापटला र विशाखापत्तनमको बीचमा पुग्दा वायुको गति प्रतिघण्टा १२५-१३५ किलोमिटर थियो भने हुरीको गति प्रतिघण्टा १५० किलोमिटरसम्म पुगेको थियो।
"यो [समुद्री आँधी] आगामी ४८ घण्टासम्म उत्तर-उत्तरपश्चिम दिशातर्फ अगाडि बढ्ने र क्रमशः कमजोर हुँदै जाने अत्यधिक सम्भावना छ। यो आगामी ६ घण्टाभित्र 'चक्रवाती तुफान'मा र त्यसपछिको थप ६ घण्टामा 'गहिरो न्यूनचापीय क्षेत्र'मा परिणत हुँदै थप कमजोर हुने छ," भारतको मौसम विभागले भनेको छ।
हवाई उडान प्रभावित

तस्बिर स्रोत, Getty Images
चक्रवात अर्णवको प्रभावका कारण तामिलनाडूको चेन्नईका उत्तरी भागहरू र तिरुवल्लूर जिल्लामा एन्नोर द्रुतमार्गबाहेक तटीय सडकहरूमा यातायात व्यवस्था प्रभावित भएको छ।
बिहान अग्ला छालहरू जमिनसम्म पुगेको देखिएको थियो।
विजयवाडा र विशाखापत्तनममा कैयौँ उडानहरू स्थगित भएका छन्। मङ्गलवार पनि विजयवाडा विमानस्थलबाट हैदराबाद, चेन्नई, बेङ्गलोर, विशाखापत्तनम र कडप्पा जाने केही उडान स्थगित भएका थिए। विजयवाडा विमानस्थल प्रशासनले बुधवार पनि सबै उडानहरू स्थगित गरेको छ।
समाचारसंस्था पीटीआईका अनुसार आन्ध्र प्रदेशका मुख्यमन्त्री एन चन्द्रबाबू नायडुले बुधवार चक्रवात अर्णवका कारण बिहानसम्म कोही पनि हताहत नभएको बताए। उनले प्रशासनले पहिले नै सावधानीका उपायहरू अवलम्बन गरिएकाले धनजनको क्षति रोक्न सकिएको बताए।
जिल्लाका प्रशासकहरूसहित ३२,००० कर्मचारीहरूसँगको टेलिकन्फरेन्समा उनले अधिकारीहरूलाई घर तथा भवनहरूमा सम्भावित क्षति घटाउन र चक्रवातबाट प्रभावित क्षेत्रहरूमा यथाशीघ्र जनजीवन सामान्य बनाउन निर्देशन पनि दिए।
रूखहरू ढले, केही स्थान जलमग्न

तस्बिर स्रोत, Reuters
अर्णव तटीय क्षेत्रनजिक पुग्दै गर्दा आन्ध्र प्रदेशका उत्तरी जिल्लाहरूमा ठूलो वर्षा भएको थियो। त्यसबाट एक व्यक्तिको मृत्यु भएको छ भने व्यापक क्षति पुगेको छ।
दक्षिण ओडिशामा मानिसहरू समुद्री आँधीले पुर्याउन सक्ने क्षतिका कारण चिन्तित देखिन्छन्।
विशाखापत्तनममा सयौँ रूखहरू ढलेका छन्।
अधिकारीहरूका अनुसार मङ्गलवारसम्म यानममा केवल २,००० जनाले शिविरमा आश्रय लिएका छन्। चेतावनी दिइए पनि धेरैजसो मानिसहरू आफ्नो घर छाड्न तयार देखिएनन्।
चक्रवात बज्रिन सक्ने ठानिएको पुडुचेरीस्थित सो क्षेत्रमा झन्डै ५,००० मानिसका लागि २० वटा शिविर तयार पारिएको छ।
"धेरैजसो मानिसहरू राहत शिविरमा जान तयार छैनन्। यस्तो अवस्थामा उनीहरूलाई सम्झाउनका लागि हामीले एनडीआरएफका कर्मचारीहरू र स्थानीय प्रहरीलाई परिचालन गर्नुपरेको छ," यानमका क्षेत्रीय प्रशासक शिवराज मीणाले 'द हिन्दू'लाई बताए।
पीटीआईका अनुसार काकीनाडामा भीषण वर्षा र समुद्रको पानी पसेका कारण बम्बे कट्टा क्षेत्रनजिकै फसेका चार जनालाई प्रहरीले उद्धार गरेको छ।
यो समुद्री आँधीको नाम कसरी राखियो?

तस्बिर स्रोत, CSU/CIRA & EUMETSAT/Handout via REUTERS
यो चक्रवातको नाम 'अर्णव' कसरी रह्यो भन्ने जिज्ञासा मानिसहरूमा देखिएको छ।
यो नाम बाङ्ग्लादेशले प्रस्ताव गरेको थियो। यो बङ्गालीमा पनि प्रचलित संस्कृत शब्द हो। यसको अर्थ 'समुद्र' हो। बङ्गाली भाषामा यो शब्दलाई 'ओर्नब' उच्चारण गरिन्छ भने देवनागरी लिपि प्रयोग गर्ने केही भाषामा 'अर्नब' लेखेको पनि देखिन्छ।
उत्तर हिन्द महासागरमा उत्पन्न हुने समुद्री आँधीहरूको नामकरण गर्ने व्यवस्थाअन्तर्गत यो नाम राखिएको हो।
सो क्षेत्रमा उत्पन्न हुने चक्रवातहरूको नामको सूचीमा ५२ वटा नाम समाविष्ट छन्।
ती नामहरू बाङ्ग्लादेश, भारत, इरान, माल्दिभ्स, म्यान्मार, ओमान, पाकिस्तान, कतार, साउदी अरब, श्रीलङ्का, थाईल्यान्ड, यूएई र यमनसहितका १३ देशले प्रस्ताव गरेका हुन्।
उक्त सूची एप्रिल २०२० मा अङ्गीकार गरिएको हो।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।




















